हुम्ला, भदौ २९। प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईको नेतृत्वमा हुम्लाको एक टोली सोमबार हिल्सा हुँदै चीनको ताक्लाकोटतर्फ प्रस्थान गरेको छ।
चीनको पुराङ काउन्टीस्थित स्थानीय प्रशासनको निमन्त्रणामा हुन लागेको नेपाल–चीन सीमा सुरक्षा सम्बन्धी अनौपचारिक छलफलमा सहभागी हुन टोली ताक्लाकोट गएको हो।
छलफलमा सीमा क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रण, व्यापारमा सहजीकरण, सीमावासी हुम्लीको कैलास मानसरोवर यात्रा सहज बनाउने तथा दुई देशबीच नियमित सीमा सुरक्षा बैठक सञ्चालन गर्नेलगायतका विषयमा छलफल हुने जनाइएको छ।
टोलीमा प्रमुख जिल्ला अधिकारी गुरागाईसहित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्मका डीएसपी नन्दबहादुर साउद, नेपाल प्रहरीका डीएसपी शंकर खड्का, राष्ट्रिय अनुसन्धान प्रमुख मेघराज कँडेल र नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा सहभागी छन्।
यसैबीच चीनको पुराङ काउन्टी र हुम्लाबीच भगिनी सम्बन्ध कायम गर्ने विशेष प्रस्तावमा हस्ताक्षर गर्ने तयारीसमेत रहेको नाम्खा गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभएको छ। सीमा क्षेत्रमा हुन सक्ने विपद् जोखिमका विषयमा समेत दुवै पक्षबीच जानकारी आदानप्रदान हुने बताइएको छ।