हुम्ला, भदौ ३१ । आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा आगामी कार्ययोजना निर्माण गोष्ठी हुम्लामा सम्पन्न भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको आयोजनामा सिमकोट गाउँपालिका–५, तल्लो बजारस्थित एलिस होटलमा भदौ ३० र ३१ गते सञ्चालन भएको गोष्ठीमा आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य क्षेत्रका कार्यक्रम, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको हो।
गोष्ठीमा निमित्त जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भीमबहादुर बुढाले प्रस्तुत गरेको विवरणअनुसार जिल्लामा स्वास्थ्य क्षेत्रमा करिब १० करोड रुपैयाँ बराबरको बजेट आएको र करिब ५ करोड रुपैयाँ बराबर बेरुजु रहेको विषयसमेत समीक्षा गरिएको थियो। आगामी आर्थिक वर्षमा हुम्लामा ग्यास्ट्रिक रोगको समस्या सबैभन्दा बढी देखिएको तथ्यांक प्रस्तुत गरिएको जनाइएको छ।
समीक्षाका क्रममा जिल्ला अस्पताल हुम्लामा खानेपानी, विशेषज्ञ चिकित्सक, भवन, इन्टरनेट, जिल्ला दररेटअनुसार सवारीसाधन, मेसिनरी सामग्री तथा अक्सिजन प्लान्ट लगायतका समस्या रहेको विषय उठाइएको थियो। सहभागीहरूले अस्पतालको सेवा प्रभावकारी बनाउन यी समस्याको समाधान आवश्यक रहेको बताएका थिए।
स्वास्थ्य कार्यक्रमको मूल्यांकनमा ४३ अंकलाई पूर्णाङ्कका साथ सिमकोट गाउँपालिका ३४ अंक अर्थात् ७९ प्रतिशतसहित प्रथम भएको छ। ताजाकोट गाउँपालिका ३०.६२ अंक अर्थात् ७१ प्रतिशतसहित द्वितीय र चंखेली गाउँपालिका ३०.११ अंक अर्थात् ७० प्रतिशतसहित तृतीय भएका छन्।
त्यस्तै सर्केगाड २९.८ अंक (६९.६ प्रतिशत), अदानचुली २९.५ अंक (६९ प्रतिशत), नाम्खा २७ अंक (६५ प्रतिशत) र खार्पुनाथ २७ अंक (६४ प्रतिशत) प्राप्त गरेका छन्।
उत्कृष्ट कार्यसम्पादन गर्ने गाउँपालिकाहरूलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रममा सिमकोट गाउँपालिका उपाध्यक्ष सुशीला भाम रोकाया, प्रदेश स्वास्थ्य निर्देशनालयका प्रेमबहादुर सिंह, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख, नेपाल एयरलाइन्सका प्रमुख तथा प्रतिनिधि, सातवटै गाउँपालिकाका स्वास्थ्य संयोजक, पत्रकार तथा जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो।
जिल्ला समन्वय समिति हुम्लाकी कार्यवाहक प्रमुख सरिता रावतको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो।