🔊 Live Radio Stream

नाम्खा र चीनको पुलान काउन्टीबीच भगिनी–नगर सम्बन्ध स्थापनाको पहल आशय पत्रमा नाम्खा गाउँपालिकाका अध्यक्ष लामाद्वारा हस्ताक्षर

radiomansarowar.com

हुम्ला भदौ ३०  नाम्खा गाउँपालिका र चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत आली प्रिफेक्चरको पुलान काउन्टीबीच भगिनी–नगर सम्बन्ध स्थापना गर्ने दिशामा महत्वपूर्ण पहल भएको छ। दुई स्थानीय तहबीच भगिनी–नगर सम्बन्ध स्थापनाका लागि आशयपत्र (Letter of Intent) मा हस्ताक्षर सम्पन्न भएको हो।

आशयपत्रमा नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले हस्ताक्षर गर्नुभएको छ। दुई छिमेकी क्षेत्रबीच आपसी मित्रता, सद्भाव, सांस्कृतिक आदान–प्रदान तथा आर्थिक सहकार्यलाई थप सुदृढ गर्ने उद्देश्यले आशयपत्रमा हस्ताक्षर गरिएको जनाइएको छ।

प्रस्तावित भगिनी–नगर सम्बन्धबाट कृषि, पशुपालन, पर्यटन, संस्कृति तथा स्थानीय आर्थिक विकास लगायतका क्षेत्रमा सहकार्यका नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ। विशेषगरी सीमावर्ती क्षेत्रको विकास, स्थानीय उत्पादन तथा आर्थिक गतिविधिको विस्तार र नागरिकस्तरको सम्बन्ध मजबुत बनाउन यस पहलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

त्यस्तै, आगामी दिनमा दुवै क्षेत्रबीच अनुभव तथा प्रविधि आदान–प्रदान, पर्यटन प्रवर्द्धन, कृषि तथा पशुपालनमा सहकार्य र सांस्कृतिक कार्यक्रमको आदान–प्रदान गर्ने अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

नाम्खा गाउँपालिका र पुलान काउन्टीबीच भगिनी–नगर सम्बन्ध स्थापनातर्फ भएको यो पहलले नेपाल–चीन सीमावर्ती क्षेत्रबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउँदै स्थानीय विकास र समृद्धिको नयाँ आधार तयार गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया