सिमकोट गाउँपालिका–५मा रहेको बालमन्दिर माध्यमिक विद्यालयमा आयोजित बालमन्दिर स्टार आठौँ संस्करण–२०८३ को अन्तिम छनोट चरणको गायन प्रतियोगिताको उपाधि कक्षा १० की अरुणिमा पुन मगरले हात पारेकि छन् ।
विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको प्रतियोगिताको अन्तिम चरणमा विभिन्न चरण पार गर्दै पाँच जना विद्यार्थी सहभागी भएको उक्त बिद्यालयका शिक्षक छिटुप लामाले जानकारी दिएका छन् । प्रतियोगितामा कक्षा ६ का नरेश सुनार, कक्षा ७ का लोकजन सुनार, कक्षा ९ की अनिशा लामा, कक्षा १० की अमिषा हमाल र कक्षा १० की पुन मगरले दमदार गीत प्रस्तुत गर्नुभएको थियो ।
प्रतियोगिताको मूल्याङ्कनका लागि विद्यालयका सहायक प्रधानाध्यापक जयबहादुर बम, शिक्षिका मधु शाही बस्नेत, गायक मानबहादुर थापा र नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष छपाल लामा रहनुभएको थियो । सहभागी विद्यार्थीहरूले उत्कृष्ट प्रस्तुति दिँदै दर्शक तथा उपस्थित शिक्षक–विद्यार्थीको ध्यान आकर्षित गरेका थिए । प्रतियोगितामा अरुणिमा पुन मगर प्रथम हुनुभएको छ भने लोकजन सुनार द्वितीय र अनिशा लामा तृतीय हुनुभएको विद्यालयले जनाएको छ ।
प्रतियोगितामा प्रथम,द्धतिय,तृतिय,चौथो तथा पाँचौ स्थानका लागी क्रमश ३ हजार, २ हजार, १ हजार ५ सय, र एक हजार सहित प्रमाणपत्र सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज बोहोराको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यालयले विद्यार्थीको प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष बालमन्दिर स्टार प्रतियोगिता सञ्चालन गर्दै आएको प्रधानध्यापक रोकायाले बताउनु भएकोे छ ।