🔊 Live Radio Stream

बाजुरा–हुम्ला सीमा विवाद र कुटपिट घटनाप्रति चार स्थानीय तहको संयुक्त आपत्ति, हुम्लामा आउने समपुर्ण यातायात बन्द गर्ने युवाको चेतावनी

radiomansarowar.com

बाजुरा र हुम्लाको सीमावर्ती क्षेत्र रानीसेन–लाम्पाटा क्षेत्रमा भएको कुटपिट घटनाप्रति चार स्थानीय तहले संयुक्त रूपमा आपत्ति जनाएका छन् भने हिमाली युवा समूहले हुम्लामा बाजुरा हुदै आवतजावत गर्ने सम्पूर्ण यातायात बन्द गर्ने चेतावनी दिएको छ । हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाले संयुक्त विज्ञप्ति जारी गर्दै जेठ ३ गते बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटामा प्रहरी चौकी स्थापनाको विषयलाई लिएर भएको विवादका क्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, प्रहरी र पत्रकारमाथि भएको सांघातिक आक्रमणको भत्र्सना गरेका छन् । विज्ञप्तिमा हिमाली गाउँपालिका वडा नम्बर ३ का सदस्य पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मीन कुँवर, प्रहरी सहायक हवल्दार महेश धामी तथा प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापामाथि कुटपिट भएको उल्लेख गरिएको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न नेपाल सरकारसँग माग गरिएको छ । संयुक्त विज्ञप्तिमा लाम्पाटा, च्याचौर, रानीसेन लगायतका क्षेत्र नेपाल सरकारको नापी विभागले जारी गरेको आधिकारिक नक्सा अनुसार बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ अन्तर्गत पर्ने स्पष्ट गरिएको छ । साथै सत्यतथ्य र प्रमाणका आधारमा सीमा विवाद समाधान गर्न जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला समन्वय समिति, सुदूरपश्चिम प्रदेश सरकार तथा संघीय सरकारको ध्यानाकर्षण गराइएको छ । यता, हिमाली युवा समूहले अर्को प्रेस विज्ञप्ति जारी गर्दै हुम्लामा बाजुरा हुदै आवत जावत गर्ने सम्पूर्ण यातायात बन्द गर्ने चेतावनी दिएको छ  । 

प्रतिक्रिया