प्रोपब्लिकको आयोजनामा महिलाहरूको आर्थिक सशक्तीकरणका लागि सञ्चालन भइरहेको सामाजिक संवाद कार्यक्रम अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा सात चरणको सामाजिक संवाद प्रक्रिया आजदेखि सुरु भएको छ।
कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशका सुर्खेत, दैलेख र हुम्ला तथा सुदूरपश्चिम प्रदेशका कैलाली, डडेल्धुरा र डोटी जिल्लाका विभिन्न स्थानीय तहमा सामाजिक संवाद सञ्चालन भइरहेको छ।
कर्णाली प्रदेशको सुर्खेत जिल्लाको वीरेन्द्रनगर र भेरीगंगा, दैलेख जिल्लाको नारायण र दुल्लु तथा हुम्ला जिल्लाको सिमकोटमा संवाद सुरु भएको छ। त्यसैगरी सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गोदावरी र धनगढी, डडेल्धुराको अमरगढी र आलिताल तथा डोटी जिल्लाको जोरायलमा सामाजिक संवाद सञ्चालन भइरहेको छ।
विभिन्न स्थानीय तहमा समूह गठनको प्रक्रिया अघि बढेको छ। प्रत्येक स्थानीय तहमा ५/५ वटा समूह गठन गरी सात चरणसम्म सामाजिक संवाद सञ्चालन गरिनेछ।
कार्यक्रममा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषको सहभागिता रहेको छ। सामाजिक संवादमार्फत महिलाहरूको आर्थिक सशक्तीकरण, आत्मनिर्भरता, उद्यमशीलता, नेतृत्व विकास तथा स्थानीय तहमा महिलाको अर्थपूर्ण सहभागिता बढाउने विषयमा चरणबद्ध रूपमा छलफल र सहकार्य गरिनेछ।
आजदेखि सुरु भएको पहिलो चरणको संवादमा सहभागीहरूले स्थानीय समस्या, आवश्यकता र आर्थिक अवसर पहिचान गर्दै सामूहिक रूपमा समाधानका उपायबारे छलफल सुरु गरेका छन्।
सात चरणको संवाद पूरा भएपछि गठन भएका समूहहरूलाई आर्थिक रूपमा आत्मनिर्भर तथा उद्यमशील बनाउन थप सहजीकरण र पहल गरिने जनाइएको छ।
प्रोपब्लिकको यो पहलले स्थानीय महिलाहरूलाई आफ्ना आवश्यकता र सम्भावनाबारे खुलेर संवाद गर्ने अवसर प्रदान गर्नुका साथै सामूहिक प्रयासबाट आर्थिक सशक्तीकरणतर्फ अघि बढ्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ।