🔊 Live Radio Stream

रास्वपा हुम्लाको निरन्तर प्रयासपछि खार्पुनाथ चुवाखोला बेलिब्रिज पुल जिल्लाभित्रै रहने

radiomansarowar.com

हुम्लाको खार्पुनाथ गाउँपालिका– ५ स्थित चुवाखोला खार्पुनाथ बेलिब्रिज जिल्ला बाहिर नलैजाने भएको छ। भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उक्त बेलिब्रिज हुम्लामै राख्न निर्देशन दिएका छन् ।

गत साउन २० गते चुवाखोलामा स्थायी पुल निर्माण भएसँगै त्यहाँ प्रयोग हुँदै आएको बेलिब्रिजलाई कर्णाली नदीको मुगुस्थित दोमुखमा स्थानान्तरण गर्ने सडक विभागबाट टिप्पणी र आदेश जारी गरिएको थियो । सडक विभागका अनुसार मुगुको सोरु गाउँपालिकाले जडान तथा अन्य खर्च बेहोर्ने गरी बेलिब्रिज दोमुखमा लैजान स्वीकृति दिएको थियो ।

तर हुम्लामा अझै सडक तथा पुल पूर्वाधारको आवश्यकता उच्च रहेकाले जिल्लामा उपलब्ध बेलिब्रिज अन्यत्र सार्न नहुने आवाज उठ्दै आएको थियो। यही विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी हुम्लाले प्रदेश र संघीय तहमा निरन्तर पहल गर्दै आएको रास्वपा हुम्लाका सचिव मनोज बोहरा अनन्तले जानकारी दिएका छन् ।

बोहराका अनुसार बेलिब्रिजको विषयमा रास्वपा हुम्लाले लामो समयदेखि गर्दै आएको पहलपछि मन्त्री लम्सालसँग भएको छलफलमा यस्तो निर्णय भएको उल्लेख गरे । मन्त्रीसँगको छलफलमा रास्वपा कर्णालि प्रदेश कमिटी सदस्य वुधे बुढा, हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य जयपती रोकाया, जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्मा र नेकपा एमाले हुम्लाका जिल्ला उपाध्यक्ष प्रकाशबहादुर शाही लगायतको सहभागी  थियो ।

पछिल्लो छलफलमा मन्त्री लम्सालले चुवाखोलाको बेलिब्रिज हुम्ला बाहिर नलैजाने स्पष्ट निर्देशन दिएका हुन्। हुम्लाको पूर्वाधार आवश्यकतालाई ध्यानमा राखेर पुल जिल्लामै राख्ने निर्णय गरिएको मन्त्रालयले  बताइएको छ । यता, मुगुको दोमुखमा आवश्यक पर्ने पुलका लागि भने छुट्टै बेलिब्रिज व्यवस्थापन गरिने समेत मन्त्री लम्सालले बताए। बेलिब्रिज जोगाउन गरिएको पहलले जिल्लामा उपलब्ध पूर्वाधार संरक्षणसँगै आगामी दिनमा दुर्गम क्षेत्रमा सडक यातायात विस्तारका लागि समेत सहयोग पुग्ने अपेक्षा गरिएको बोहराले जानकारी दिएका छन् ।

प्रतिक्रिया