सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेबीच मन्त्रालय भागबण्डामा सहमति जुटेको छ। सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित ४ र एमालेले ३ मन्त्रालय पाउने भएका छन्।
नेकपाले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार, भूमि व्यवस्था कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछ। एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय पाउने सहमति भएको छ।
मुख्यमन्त्री मंगलबहादुर शाही नियुक्त भएको २२ दिनपछि मन्त्रालय भागबण्डा टुंगिएको हो। दुई दलबीच सुशासन, पारदर्शिता, बजेट कार्यान्वयन र ३० लाख रुपैयाँभन्दा माथिका योजना ठेक्का प्रक्रियाबाट अघि बढाउनेलगायत विषयमा पनि सहमति भएको छ।
सहमति पत्रमा एमालेका संसदीय दलका नेता यामलाल कँडेल र मुख्यमन्त्री मंगलबहादुर शाहीले हस्ताक्षर गरेका छन्।