🔊 Live Radio Stream

भारत सरकारको सहयोगमा सर्केगाडमा कृषि उपज प्रवद्र्धन केन्द्र निर्माण हुने

radiomansarowar.com

भारत सरकारको सहयोगमा हुम्लाको सर्केगाड गाउँपालिकामा उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना (HICDPs) अन्तर्गत कृषि उपज प्रवद्र्धन केन्द्र निर्माण हुने भएको छ। यसका लागि भारत सरकार र सर्केगाड गाउँपालिकाबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार सर्केगाड गाउँपालिकामा कृषि उपज प्रवद्र्धन केन्द्र  निर्माण गरिनेछ । 

केन्द्रमार्फत स्थानीय तथा रैथाने बालीको उत्पादन, संकलन, प्रशोधन, यान्त्रीकरण, व्यवसायीकरण तथा बजारीकरणमा सहयोग पुग्ने गाउँ पालिका अध्यक्ष ठान बहादुर रोकायाले बताउनु भएको छ ।  सम्झौतामा भारतीय राजदूतावासका विकास साझेदार काउन्सेलर अविनाश कुमार सिंह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण सम्बन्धी मन्त्रालयका उपसचिव होमनाथ काफ्ले र सर्केगाड गाउँपालिकाका अध्यक्ष रोकायाले हस्ताक्षर गर्नुभएको जनाइएको छ । 

सर्केगाड गाउँपालिकाले मिति २०८१÷०६÷१० गते प्रस्ताव पेश गरेको उक्त परियोजनाका लागि रु. ८ करोड ११ लाख ४१ हजार ३ सय ५१ बजेट विनियोजन गरिएको छ । परियोजना कार्यान्वयन भएपछि स्थानीय किसान तथा विशेषगरी विपन्न र गरिब परिवारको आयआर्जनमा वृद्धि हुनुका साथै कृषि क्षेत्रमा आधुनिकीकरण, व्यवसायीकरण र आत्मनिर्भरता बढ्ने अपेक्षा गरिएको छ। स्थानीय उत्पादनको संकलनदेखि प्रशोधन र बजारीकरणसम्मको व्यवस्था हुने भएकाले सर्केगाडको कृषि क्षेत्रलाई थप व्यवस्थित र व्यावसायिक बनाउन परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष रोकायाले विश्वास ब्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया