🔊 Live Radio Stream

हुम्लाबाट स्याउ निर्यातमा गुणस्तर मापदण्ड लागू गर्ने निर्णय

radiomansarowar.com

हुम्ला जिल्लामा उत्पादन हुने स्याउ जिल्ला बाहिर निर्यात गर्दा गुणस्तरीय तथा रसयुक्त स्याउ मात्रै निर्यात गर्ने व्यवस्था लागू गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लामा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंको अध्यक्षतामा स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित सरकारी निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा बसेको बैठकले स्याउ निर्यात सम्बन्धी विभिन्न निर्णय गरेको हो । बैठकले २०८३ सालमा भदौ महिनाको पहिलो साताभन्दा अगाडि स्याउ निर्यात नगर्ने र स्याउको जात, स्थान तथा गुलियोपनका आधारमा निर्यातयोग्य स्याउको पहिचान गर्ने निर्णय गरेको छ । 

यसका लागि कृषि विकास कार्यालयले सूचना प्रकाशन गरी जिल्लाका सबै पालिका, कृषि उद्यमी तथा स्याउ व्यापारीलाई जानकारी गराउने निर्णय गरिएको छ । त्यस्तै, स्याउ निर्यातका लागि सम्बन्धित पालिकाको कृषि विकास शाखाले तोकेको ढाँचामा गुलियोपन प्रमाणिकरणका आधारमा सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ । सिजनमा पाइने जातको हकमा कृषि प्राविधिकको सिफारिसका आधारमा निर्यात गर्न सकिने जनाइएको छ । स्याउको गुलियोपन जाँच गर्न रिफ्र्याक्टोमिटर प्रयोग गर्ने व्यवस्था सम्बन्धित पालिका तथा कृषि विकास कार्यालयले मिलाउने निर्णय समेत भएको छ । कृषि प्राविधिकको सिफारिसबिना स्याउ निर्यात गर्न नपाइने र काँचो स्याउ बिक्रीका लागि पठाइएको भेटिएमा नियन्त्रणमा लिई सम्बन्धित पक्षलाई नै फिर्ता गर्ने व्यवस्था कार्यान्वयन गरिने भएको छ । 

यसका साथै व्यावसायिक प्रयोजनका लागि आवश्यक पर्ने स्याउको कार्टुनमा हुम्ला जिल्लाको परिचय खुल्ने विवरण उल्लेख भएको कार्टुन मात्रै प्रयोग गर्न पाउने व्यवस्था मिलाइने निर्णय गरिएको छ । बैठकले हुम्लाको स्याउको गुणस्तर कायम राख्दै बजारमा राम्रो मूल्य र पहिचान स्थापित गर्न किसान, व्यापारी, स्थानीय तह तथा सम्बन्धित सरकारी निकायबीच आवश्यक समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिएको छ 

प्रतिक्रिया