हुम्ला, भदौ २८ आर्थिक वर्ष २०८३/०८४ मा भौतिक पूर्वाधार विकासतर्फ सञ्चालन हुने योजनालाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन हुम्लामा आयोजित दुईदिने योजना कार्यान्वयनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय हुम्लाको आयोजनामा सिमकोटस्थित मनसरोवर होटलमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, निर्माण व्यवसायी, उपभोक्ता समितिका पदाधिकारी, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो।
सामाजिक विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख ईश्वरबहादुर सिंहले रेडियो मानसरोवरलाई जानकारी दिँदै कार्यालयमार्फत सञ्चालन हुने योजनाको स्वीकृति, सम्झौता, कार्यान्वयन, अनुगमन, प्रगति प्रतिवेदन तथा भुक्तानी प्रक्रियाबारे सरोकारवालालाई स्पष्ट जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
उहाँका अनुसार उपभोक्ता समिति गठन, योजना सञ्चालन, लागत अनुमान, BOQ, नापी किताब, बिल तथा कार्यसम्पन्न प्रतिवेदनलगायतका प्राविधिक तथा प्रशासनिक प्रक्रियाबारे समेत सहभागीलाई जानकारी गराइएको छ। निर्माण कार्यमा गुणस्तर र निर्धारित समयसीमा कायम गर्दै सार्वजनिक स्रोतको प्रभावकारी उपयोगमा जोड दिइएको उहाँले बताउनुभयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले विकास निर्माणका योजना पारदर्शी र सुशासनयुक्त ढंगले सञ्चालन गर्न सम्बन्धित सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले योजनाको बजेटदेखि कार्यान्वयन र अनुगमनसम्म पारदर्शिता कायम गर्नु सेवाग्राही तथा नागरिकको समेत जिम्मेवारी भएको उल्लेख गर्नुभयो।
दुर्गम हिमाली जिल्ला हुम्लामा विकास निर्माणका योजना समयमै सम्पन्न गरी नागरिकले त्यसको प्रत्यक्ष लाभ पाउने वातावरण बनाउन अभिमुखीकरण कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।