हुम्ला, साउन २६ । महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि प्रो पब्लिकको सहजीकरणमा सिमकोट गाउँपालिकामा सञ्चालन भइरहेको सात चरणको सामाजिक संवाद कार्यक्रमअन्तर्गत राम्पाल सशक्तीकरण सामाजिक संवाद समूहको पहिलो चरणको बैठक ‘बाल्यकालको कथा’ विषयबाट सम्पन्न भएको छ।
सिमकोट गाउँपालिका–२ मा गठन भएको राम्पाल समूहमा १३ महिला र २ पुरुष गरी १५ जना सहभागी छन्। बैठकमा सहभागीहरूले बाल्यकालका आफ्ना अनुभव, पीडा र संघर्षहरू खुलेर साझा गरेका थिए। कसैले सानै उमेरमा गोरु चराएको, पानी बोकेको, घाँस–दाउरा तथा खेतीपाती गरेको र जडीबुटी संकलन गरेको अनुभव सुनाए। छोरीलाई टाढा पढाउन हुँदैन भन्ने तत्कालीन सोचका कारण कक्षा ५ पछि पढाइ छोडेर घरायसी काममा लाग्नुपरेका अनुभवसमेत सहभागीहरूले साझा गरे।
बाल्यकालका ती अनुभव सम्झँदै सहभागीहरूले विगतका पीडा मात्र होइन, अब आफू र आफ्ना छोरीहरूको भविष्य फरक बनाउनुपर्ने आवश्यकता समेत महसुस गरेका छन्। संवादका क्रममा महिलाहरूले आफ्ना कुरा खुलेर राख्ने, आफूले भोगेका पीडा व्यक्त गर्ने र ‘महिला पनि केही गर्न सक्छन्’ भन्ने आत्मविश्वास विकास भएको बताएका छन्।
समूह गठनदेखि हालसम्म महिलाहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, सामूहिक छलफल तथा निर्णय गर्ने क्षमता बढ्दै गएको देखिएको छ। हिजो आफ्ना कुरा राख्न हिचकिचाउने महिलाहरू आज खुलेर बोल्दै आफ्ना समस्या, आवश्यकता र सम्भावनाबारे छलफल गर्न थालेका छन्।
प्रो पब्लिकको सहजीकरणमा सिमकोट गाउँपालिकामा गठन हुने पाँचवटै समूहलाई सात चरणसम्म सामाजिक संवादमार्फत अघि बढाउँदै आर्थिक सशक्तीकरण, उद्यमशीलता, आत्मनिर्भरता, नेतृत्व विकास र महिलाको अर्थपूर्ण सहभागिता बढाउने लक्ष्य राखिएको छ।
“हिजो बाध्यताले रोकिएका पाइला आज संवादबाट अघि बढ्दैछन्; ‘म पनि केही गर्न सक्छु’ भन्ने विश्वास नै महिलाको सशक्तीकरणको पहिलो खुड्किलो बनेको छ।”