हुम्ला, साउन-३1 । हुम्लाको सिमकोट गाउँपालिकाका विभिन्न सामाजिक संवाद समूहहरूले प्रोपब्लिक नेपालको सहजीकरणमा सञ्चालित सात चरणको सामाजिक संवाद प्रक्रियाअन्तर्गत पहिलो चरण “बाल्यकालको कथा” विषयमा संवाद गरेका छन्।
सिमकोट–२, ५ र ६ का विभिन्न पाँच समूहमा भएको संवादमा सहभागीहरूले बाल्यकालमा भोगेका सुख–दुःख, पारिवारिक जिम्मेवारी, शिक्षा, जातीय तथा लैङ्गिक विभेद र सामाजिक व्यवहारका अनुभवहरू खुलेर साझा गरेका हुन्।
लालीगुराँस उद्यमशील महिला समूह, राम्पाल सशक्तीकरण सामाजिक संवाद समूह, हातेमालो सशक्त सामाजिक संवाद समूह, कालासिल्ता परिवर्तन सामाजिक संवाद समूह र रानिबन सिर्जनशील सामाजिक संवाद समूहमा भएका संवादमा सहभागीहरूले नाङ्गो खुट्टा हिँड्ने, गोठालो जाने, घाँस–दाउरा गर्ने, पानी बोक्ने, खेतीपाती गर्ने तथा जडीबुटी संकलन गर्ने गरेका बाल्यकालका अनुभव सुनाएका थिए।
कतिपय सहभागीले छोरीलाई टाढा पढाउन हुँदैन भन्ने तत्कालीन सामाजिक सोचका कारण कक्षा ५ पछि पढाइ छोड्नुपरेको अनुभव सुनाए। यस्तै, एक पुरुष सहभागीले आफूले विद्यालय जाने र खेल्ने अवसर पाए पनि आफ्ना दिदीहरूले घरायसी काम, घाँस–दाउरा तथा अन्य जिम्मेवारी सम्हाल्नुपरेको अनुभव सुनाए।
कालासिल्ता परिवर्तन समूहमा एक महिला सहभागीले दलित भएकै कारण बाल्यकालमा भोग्नुपरेको जातीय विभेदको पीडादायी अनुभव सुनाइन्। रानिबन सिर्जनशील समूहमा लामा समुदायको पारिवारिक परम्परा, आमाले एक्लै घरको काम गर्नुपर्ने अवस्था तथा भाषा फरक भएका कारण बाल्यकालमा अन्य समुदायका साथीहरूसँग हुने गरेको झगडाका अनुभवसमेत साझा भए।
संवादलाई थप आत्मीय बनाउन विभिन्न समूहमा देउडा गीत, साना खेल तथा बाल्यकाल सम्झाउने अभ्यास गरिएको थियो। सहभागीहरूले चित्र तथा शब्दमार्फत आफ्ना सम्झना उतार्दै पालैपालो कथा सुनाएका थिए। देउडा गीत र खेलले कार्यक्रमलाई थप रमाइलो र आत्मीय बनाएको सहभागीहरूले बताए।
सामाजिक संवादका क्रममा सहभागीहरूले एक–अर्काको कुरा सम्मानपूर्वक सुन्ने, व्यक्तिगत अनुभव गोप्य राख्ने, तोकिएको समयमा उपस्थित हुने, पालैपालो बोल्ने तथा आगामी चरणका संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
सात चरणको सामाजिक संवाद प्रक्रियाको पहिलो चरणले बाल्यकालका अनुभवमार्फत समाजमा रहेको विभेद, असमानता र अवसरको अन्तर पहिचान गर्दै समानता, सम्मान र परिवर्तनका लागि सामूहिक सोच विकास गर्ने आधार तयार गरेको छ।