🔊 Live Radio Stream

सिमकोटका ३ वडामा 4G टावरको माग, माग पूरा नभए स्थानीयद्वारा आन्दोलनको चेतावनी

radiomansarowar.com

हुम्ला भदौ - २२ सिमकोट गाउँपालिका–१, २ र ३ का बासिन्दा लामो समयदेखि मोबाइल तथा सञ्चार सेवाको समस्याबाट प्रभावित भएका छन्। सञ्चार सेवा विस्तारका लागि नयाँ टावर स्थापना गर्न माग गर्दै स्थानीय सरकार र युवाले सोमबार नेपाल टेलिकम, दूरसञ्चार कार्यालय सिमकोटमा ज्ञापनपत्र बुझाएका छन्।

साविक ठेहे क्षेत्रका युवा र नेपाल स्थानीय सरकारका जनप्रतिनिधिको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा तीनवटै वडामा प्रभावकारी मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा विस्तार गर्न तत्काल नयाँ टावर स्थापना गर्न माग गरिएको छ।

सञ्चार सेवा नहुँदा फोन सम्पर्क, इन्टरनेट, अनलाइन शिक्षा, बैंकिङ कारोबार, सरकारी सेवा तथा आपत्कालीन अवस्थामा सूचना आदानप्रदानमा समेत समस्या भइरहेको स्थानीयको गुनासो छ।

स्थानीय युवाले माग तत्काल सम्बोधन गरी प्राविधिक अध्ययनसहित आवश्यक स्थानमा टावर स्थापना गर्न नेपाल टेलिकमसँग आग्रह गरेका छन्। माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्।

स्थानीयले सञ्चार सेवा विलासिताको सुविधा नभई शिक्षा, स्वास्थ्य, रोजगारी र आपत्कालीन सेवासँग जोडिएको आधारमा आवश्यकता भएकाले दुर्गम हिमाली क्षेत्रमा सञ्चार पूर्वाधारलाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया