२८ भदौ काठमाडौं नेपाली महिलाको प्रमुख पर्व हरितालिका तीज आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। तीजको पहिलो दिन आज व्रतालु महिलाले निराहार व्रतका लागि शक्ति सञ्चय गर्ने उद्देश्यले दर खाने परम्परा रहेको छ।
विशेषगरी माइती तथा दाजुभाइले छोरी, चेली तथा दिदीबहिनीलाई बोलाएर दर खुवाउने चलन छ। दरमा दूधबाट बनेका परिकार, गहुँको रोटी, घिउलगायत आडिला खानेकुरा खाने गरिन्छ।
तीज महिलाले वर्षभरि भोगेका दुःख, पीडा र मर्का गीत तथा भेटघाटमार्फत व्यक्त गर्ने पर्वका रूपमा समेत लिइन्छ। तर पछिल्लो समय तीजका नाममा महिनौँअघिदेखि दर खाने, गरगहना तथा महँगा पोसाक प्रदर्शन गर्ने र अत्यधिक तडकभडक गर्ने प्रवृत्ति बढेको भन्दै संस्कृतिविद् तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्।
आज दर खाएपछि भोलि हरितालिका तीजको व्रत बस्ने परम्परा छ। त्यसपछि गणेश चौथी र ऋषि पञ्चमी मनाउँदै चारदिने तीज पर्व सम्पन्न हुने गर्दछ।
तीजको अवसरमा देशभरका शिवालयमा महिलाहरूको भीड लाग्ने गरेको छ ।