भदौ २८ हुम्ला हुम्लाको सिमकोटमा प्रोपब्लिक नेपालको सहजीकरणमा सञ्चालित सात चरणको सामाजिक संवाद प्रक्रियाले स्थानीय नागरिकका वर्षौँदेखि मनभित्र दबिएका दुःख, संघर्ष र पीडालाई आवाज दिन थालेको छ।
सिमकोट गाउँपालिकाका वडा नं. २, ५ र ६ मा गठन भएका लालीगुराँस उद्यमशील महिला समूह, रम्पाल सशक्तीकरण सामाजिक संवाद समूह, कालासिल्ता समृद्ध सामाजिक संवाद समूह, हतेमालो सशक्तीकरण सामाजिक संवाद समूह र रनिबन सिर्जनशील सामाजिक संवाद समूहमा सञ्चालित संवादमा सहभागीहरूले बाल्यकालदेखि वर्तमानसम्म भोगेका जीवनका सुख–दुःख खुलेर तेस्रो चणकाे बैठक सम्पन्न हुदा साझा गरेका छन्।
पहिलो चरणमा ‘बाल्यकालको कथा’ विषयमा भएको संवादमा सहभागीहरूले नाङ्गो खुट्टा हिँडेको, गोठालो गएको, घाँस–दाउरा गरेको, पानी बोकेको, खेतीपाती र जडीबुटी संकलन गरेको बाल्यकाल सम्झिए। कतिपय महिलाले छोरी भएकै कारण टाढा पढ्न नपाएको र कक्षा ५ पछि पढाइ छोड्नुपरेको पीडा सुनाए।
त्यसैगरी जातीय विभेद, लैङ्गिक असमानता, पारिवारिक जिम्मेवारी र अवसरको अभावले बाल्यकालमै जीवनका सपना साँघुरिएको अनुभव पनि सहभागीहरूले सुनाएका थिए। केही समूहमा देउडा गीत, खेल तथा बाल्यकाल सम्झाउने अभ्यासमार्फत पुराना सम्झनालाई पुनः जीवन्त बनाइएको थियो।
तर संवादको तेस्रो चरणमा पुग्दा बाल्यकालका सम्झनाभन्दा अझ गहिरा **‘पीडादायक कथा’**हरू बाहिर आए।
लालीगुराँस, रम्पाल, कालासिल्ता, हतेमालो र रनिबन समूहका सहभागीहरूले जातीय विभेद, बालविवाह, मागी विवाह, आर्थिक अभाव, अधुरो शिक्षा, पारिवारिक दबाब तथा अवसरबाट वञ्चित हुनुपरेका पीडादायी अनुभव सुनाएका छन्।
एक सहभागीले सानै उमेरदेखि परिवारको जिम्मेवारी बोकेर पढ्ने अवसर गुमाउनुपरेको कथा सुनाउँदै आफ्ना सपना र परिवारको आवश्यकताबीच आफूले परिवारको आवश्यकता रोज्नुपरेको बताइन्।
अर्की सहभागीले सानै उमेरमा काम गर्ने क्रममा लडेर घाइते भएको तर आर्थिक अभाव र उपचारको सहज पहुँच नहुँदा समयमा उपचार पाउन नसकेको पीडा सुनाइन्। वर्षौँ बितिसक्दा पनि त्यही चोटको पीडा शरीरमा बोकेर हिँडिरहेको उनको कथाले संवादको वातावरण नै भावुक बनाएको थियो।
कतिपय महिलाले जातीय विभेदका कारण भोगेको अपमान, बालविवाहपछि सानै उमेरमा थपिएको जिम्मेवारी, परिवारको निर्णयअनुसार गर्नुपरेको विवाह तथा छोरी भएकै कारण शिक्षा र अवसरबाट वञ्चित हुनुपरेको अवस्था सुनाएका छन्।
यी कथा फरक–फरक भए पनि पीडाको जरो भने एउटै देखिन्छ—अभाव, अवसरको कमी, सामाजिक विभेद र परिस्थितिसँगको निरन्तर संघर्ष।
पीडादायक कथा सुनाउँदा सहभागीहरू भावुक बने पनि कसैले कसैको आलोचना गरेनन्। बरु एक–अर्काको कुरा धैर्यपूर्वक सुन्दै सहानुभूति र हौसला दिएका थिए।
“तपाईं एक्लो हुनुहुन्न, हामी तपाईंको साथमा छौँ” भन्ने भावनाले समूहमा आपसी विश्वास र आत्मीयता थप बलियो बनाएको सहभागीहरूको अनुभव छ।
संवादका क्रममा सहभागीहरूले मनभित्र दबाएर राखेको कुरा सुनाउँदा मन हलुका हुने, अरूका संघर्ष सुन्दा आफू मात्र पीडामा नरहेको महसुस हुने र समूहको साथले कठिन परिस्थितिसँग जुध्ने साहस मिल्ने बताएका छन्।
सामाजिक संवादले व्यक्तिगत पीडालाई मात्र बाहिर ल्याएको छैन, हुम्लाको समाजमा अझै विद्यमान जातीय विभेद, बालविवाह, लैङ्गिक असमानता, शिक्षाबाट वञ्चित हुने अवस्था र आर्थिक अभावजस्ता सामाजिक सवाललाई समेत उजागर गरेको छ।
सहभागीहरूले आगामी दिनमा एक–अर्काको सुख–दुःखमा साथ दिने, समस्या पर्दा सहयोग गर्ने, महिलाका आवाजलाई सम्मान गर्ने तथा समाजमा रहेका विभेद र असमानताविरुद्ध सामूहिक रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बाल्यकालका अधुरा सपनादेखि आजसम्मका पीडादायक सम्झनासम्म—सामाजिक संवादले हुम्लाका नागरिकलाई केवल बोल्ने ठाउँ दिएको छैन, एक–अर्काको पीडा सुन्ने, बुझ्ने र साथ दिने सम्बन्ध पनि निर्माण गरिरहेको छ।