🔊 Live Radio Stream

सिमकोटमा महिलाको आर्थिक सशक्तीकरणका लागि ‘संवाद परियोजना’ शुभारम्भ

radiomansarowar.com

हुम्लाको सिमकोट गाउँपालिकामा महिलाको आर्थिक सशक्तीकरण, सामाजिक सहभागिता तथा अनुकूलन वातावरण निर्माण गर्ने उद्देश्यसहित “संवादमार्फत महिलाको आर्थिक उन्नतिका निमित्त अनुकूलन वातावरणको सृजना परियोजना” शुभारम्भ गरिएको छ । बुधबार आयोजित परियोजना शुभारम्भ समारोहमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्था, महिला समूह, सहकारीका प्रतिनिधि तथा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले ग्रामीण क्षेत्रमा रहेका महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन यस्ता परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकाका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला रोकाया(भाम)ले संवादमार्फत महिलाहरूलाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउने कार्यदिशा तय गरिने बताएकि छिन् । उनले महिलाको आर्थिक उन्नतिका लागि मानसिक रूपमा तयार र आत्मविश्वासी हुनु आवश्यक रहेको उल्लेख गर्दै कुनै पनि विकास कार्यक्रमको मुख्य उद्देश्य समाजको समग्र विकास नै भएको धारणा राखिन् । उनले गाउँपालिकाले महिला सशक्तीकरण, सामाजिक सुधार तथा चेतनामूलक क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि धेरै समस्या अझै जस्ताको त्यस्तै रहेको बताइन्। समाजलाई संस्कारी, सचेत र जिम्मेवार बनाउने प्रयास जारी रहेको उल्लेख गर्दै अब यस परियोजनाले त्यसमा थप सहयोग पु¥याउने अपेक्षा गरिएको बताएकि छिन् ।

कार्यक्रममा बोल्दै कार्यक्रम अधिकृत कमला रानाले संवादको माध्यममार्फत महिलाको आर्थिक उन्नतिका लागि अनुकूल वातावरण सिर्जना गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको बताइन् । उनका अनुसार लक्षित वर्गका महिला दिदीबहिनीलाई पालिका स्तर, प्रदेश स्तर तथा समग्र नीति निर्माण तहसम्म सहभागिता गराउने वातावरण निर्माण गरिनेछ । साथै महिलामा सम्पत्तिको स्वामित्व सम्बन्धी सचेतना अभिवृद्धि गर्न सात चरणका संवाद कार्यक्रम सञ्चालन गरी करिब १ हजार ५ सय महिलालाई क्षमतावान बनाउने लक्ष्य रहेको उनले जानकारी दिइन् । उक्त परियोजनामा GRAPE २, युरोपियन युनियन, GIZ लगायतका संस्थाको सहयोग रहेको जनाइएको छ ।


प्रतिक्रिया