🔊 Live Radio Stream

संघर्षबाट सफलताको कथा, सिमकोटका सामाजिक संवाद समूहका महिलामा जाग्यो आत्मविश्वास

radiomansarowar.com

सिमकोट हुम्ला भदौ -२२  हुम्लाको सिमकोटमा सञ्चालित सामाजिक संवादका दोस्रो चरणका कार्यक्रमहरूले सहभागीलाई आफ्नै जीवनका संघर्ष, सफलता र सकारात्मक परिवर्तनका कथा बाँड्ने अवसर दिएका छन्।

सिमकोट–२, ५ र ६ का रामपाल सशक्तीकरण, हातेमालो सशक्त, रानीबन सिर्जनशील तथा कालासिल्ता परिवर्तन सामाजिक संवाद समूहसँगै लालीगुराँस उद्यमशील महिला समूहले दोस्रो चरणको संवाद सम्पन्न गरेका हुन्। प्रोपब्लिकको सहजीकरणमा भएका संवादमा सहभागीहरूले बाल्यकालका सम्झना, जीवनका सुखद अनुभव, चुनौती र संघर्ष पार गर्दै हासिल गरेका सफलताका कथा एक–अर्कासँग साझा गरेका थिए।

संवादका क्रममा सहभागीहरूले चित्र तथा शब्दमार्फत आफ्ना सकारात्मक अनुभव प्रस्तुत गर्दै आफूले भोगेका कठिनाइ र त्यसबाट प्राप्त सिकाइ सुनाएका थिए। सहभागीहरूले सफलता ठूलो उपलब्धि मात्र नभई कठिन परिस्थितिमा निरन्तर प्रयासबाट आएको सानो सकारात्मक परिवर्तन पनि हुन सक्ने अनुभूति गरेका छन्।

विशेषगरी महिला सहभागीहरूले आफ्ना जीवनका अनुभव खुलेर सुनाउँदा समूहमा आत्मविश्वास, आपसी विश्वास, आत्मीयता र सहकार्यको भावना थप बलियो बनेको सहभागीहरूको भनाइ छ।

सामाजिक संवादले व्यक्तिगत भोगाइलाई सामूहिक सिकाइ र प्रेरणामा रूपान्तरण गर्दै सहभागीहरूलाई “मेरो कथा पनि सफलताको कथा हो” भन्ने आत्मविश्वास दिएको छ। आगामी दिनमा संवादलाई निरन्तरता दिने निर्णयसमेत गरिएको छ।


प्रतिक्रिया