जिल्ला प्रशासन कार्यालय हुम्लामा मंगलबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले नुन ढुवानी र वितरणलाई व्यवस्थित बनाउन थप कोटा माग गर्ने निणय गरेको छ । बैठकले आर्थिक वर्ष २०८२÷०८३ का लागि विभिन्न बिक्री केन्द्रमार्फत सहज आपूर्ति सुनिश्चित गर्न १५ सय क्विन्टल नुन थप माग गर्ने निर्णय गरेको साल्ट ट्रेडिङ कर्पोरेशनका कार्यालय प्रमुख राजबहादुर लामाले रेडियो मानसरोवरलाइ बताए । उक्त निर्णय अनुसार सिमकोटका लागि ५ सय क्विन्टल, सर्केगाड–चंखेली क्षेत्रका लागि ५ सय क्विन्टल र अदानचुली–ताँजाकोट क्षेत्रअन्तर्गत श्रीनगर बिक्री केन्द्रका लागि ५ सय क्विन्टल नुन माग गरिएको हो । त्यसैगरी, आर्थिक वर्ष २०८३÷०८४ का लागि जनसंख्या र आवश्यकताका आधारमा अझ ठूलो परिमाणमा नुन माग गर्ने तयारी गरिएको समेत कार्यालय प्रमुख लामाले बताउनु भयो । सिमकोट र खार्पुनाथ गाउँपालिकाका लागि हाल आपूर्ति हुँदै आएको एक हजार पाँच सय २९ दशमलप ९५ क्विन्टललाई बढाएर २५ सय क्विन्टल पु¥याउने प्रस्ताव गरिएको समेत प्रमुख लामाले बताउनु भयो । सर्केगाड–चंखेली तथा अदानचुली–ताजाकोट क्षेत्रका लागि हालको एक हजार ७९ दशमलप ८४ क्विन्टलबाट बढाएर दुइ हजार क्विन्टल पु¥याउने,नाम्खा गाउँपालिकाको कोटा ६ सय ३० क्विन्टलमै यथावत राखिएको छ । यसरी आगामी वर्षका लागि कुल १ हजार ८ सय १० दशमलप ३२ क्विन्टल नुन थप माग गर्ने निर्णय भएको हो । नुन ढुवानीलाई प्रभावकारी बनाउन साल्ट ट्रेडिङ कर्पोरेशनको प्रदेश कार्यालयसँग समन्वय गर्दै हवाई तथा स्थलमार्ग दुवै माध्यम प्रयोग गरिने जनाइएको छ । जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, कर्पोरेशन प्रमुख लामा, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपसभापति लक्ष्मण ऐडी, नेपाली कांग्रेसका जिल्ला उपसभापति कैलाश भण्डारी,नेकपाका जिल्ला सचिव धर्मराज बोहरा, नेकपा एमालेका जिल्ला अध्यक्ष ज्ञामी बुमीलगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवम प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।