🔊 Live Radio Stream

हिमज्योति नमुना विद्यालयको घेरवार उद्घाटन, समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायी सम्मानित

radiomansarowar.com

सर्केगाड गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हिमज्योति नमुना विद्यालयको घेरवारको उद्घाटन तथा विद्यालय व्यवस्थापनसँग सम्बन्धित विभिन्न कार्यविधि प्रमाणीकरण कार्यक्रम सम्पन्न भएको छ।गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाको अध्यक्षतामा आयोजित कार्यक्रममा नवनिर्मित विद्यालय घेरवारको उद्घाटनसँगै विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, शिक्षक तथा विद्यार्थी आचारसंहिता कार्यविधि–२०८३ प्रमाणीकरण गरिएको हो।

कार्यक्रममा आर्थिक वर्ष २०८२र८३ को सम्झौताअनुसार विद्यालयको घेरवार निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरेको भन्दै सुस्मिता कन्स्ट्रक्सनका सञ्चालक ठानबहादुर भण्डारीलाई ‘नमुना ठेकेदार’का रूपमा सम्मान गरिएको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिए।

उनका अनुसार करिब ८०० मिटर लम्बाइको विद्यालय घेरवार निर्माणमा करिब १ करोड ५० लाख रुपैयाँ खर्च भएको छ। गाउँपालिकाले गुणस्तरीय पूर्वाधार निर्माणसँगै समयमै योजना सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गर्ने नीति अनुरूप सम्मान गरिएको अध्यक्ष रोकायाले बताए।

विद्यालयको भौतिक संरचना सुदृढ बनेसँगै विद्यार्थीको सुरक्षा, पठनपाठनको वातावरण तथा विद्यालय व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया