भदौ -१० बुधबार रसुवामा आएको भीषण बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ। बोर्डर आउट पोस्ट (बीओपी) टिमुरेमा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएपछि उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ। पछिल्लो विवरणअनुसार केही सुरक्षाकर्मी सम्पर्कमा आए पनि बेपत्ता रहेकाहरूको खोजी जारी छ।
बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति भएको छ। विद्युत् गृह तथा २२० केभी सबस्टेसनमा क्षति पुगेपछि विद्युत् आपूर्ति प्रभावित भएको छ। सडक तथा अन्य संरचनामा समेत क्षति पुगेकाले प्रभावित क्षेत्रमा आवतजावत र सञ्चार सम्पर्क कठिन बनेको छ।
उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएका छन्। नेपाली सेनाको एमआई–१७ हेलिकप्टरसमेत मेडिकल टोलीसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहे पनि क्षतिको पूर्ण विवरण अझै संकलन भइरहेको छ।