सिमकोट गाउँपालिका वडा नं ६ स्थित मानसरोवर माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान विषय तथा प्राविधिक संकायलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न त्रिपक्षीय सम्झौता भएको छ । सिमकोट गाउँपालिका, आधार डेभलपमेन्ट नेपाल र मानसरोवर माध्यमिक विद्यालयबीच भएको संशोधित समझदारी अनुसार विद्यालयको शैक्षिक गुणस्तर सुधार, विज्ञान तथा प्राविधिक शिक्षाको पहुँच विस्तार र विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा सहमति भएको हो ।
सम्झौता अनुसार आधार डेभलपमेन्ट नेपालले विज्ञान विषयका शिक्षकलाई थप शिक्षण प्रोत्साहन तथा आवश्यक शैक्षिक सामग्री व्यवस्थापनमा सहयोग गर्नेछ । साथै विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने, विज्ञान, कृषि तथा शिक्षा तर्फ गणित र अंग्रेजि विषयप्रति आकर्षण बढाउने, उच्च शिक्षाका लागि जिल्ला बाहिर जाने प्रवृत्ति न्यूनीकरण गर्न सचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने तथा विद्यालयको प्रयोगशाला र पुस्तकालय व्यवस्थापनमा समेत सहयोग गर्ने उल्लेख छ ।
सम्झौता अनुसार छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले तोकिएका आचारसंहिता तथा सम्झौताका सर्तहरू पालना गर्नुपर्नेछ । विद्यार्थीको स्वास्थ्य तथा मनोवैज्ञानिक समस्यामा आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने व्यवस्था समेत समेटिएको छ । अभिभावकको सक्रिय सहभागिता बढाउन संयुक्त पहल गर्ने तथा विद्यार्थीको शैक्षिक उपलब्धि र प्रगतिका विषयमा नियमित रूपमा प्रतिवेदन आदानप्रदान गर्ने सहमति भएको छ । त्यसैगरी सिमकोट गाउँपालिकाले विद्यालयको शैक्षिक गुणस्तर कायम राख्ने, अनुगमन तथा मूल्यांकन गर्ने, आवश्यक समन्वय तथा सहकार्य गर्ने र विज्ञान तथा प्राविधिक शिक्षाका लागि आवश्यक पूर्वाधार तथा प्रयोगशाला व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर रावतको सभाध्यक्षतामा र सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको प्रमुख अतिथ्य तथा सिमकोट गाउँपालिका उपाध्यक्ष सुशीला भाम रोकायाको विशेष अतिथ्यमा । कार्यक्रम संचालन गरिएको थियो । विद्यालयमा विज्ञान तथा प्राविधिक शिक्षा प्रभावकारी रूपमा सञ्चालन गर्न गरिएको यस सम्झौताले हुम्लाका विद्यार्थीलाई स्थानीय स्तरमै गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर विस्तार हुने गाउँ पालिका अध्यक्ष भण्डारीले भनाई रहेको छ ।