काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार तथा राहतलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको प्रधानमन्त्री बालेन शाहले बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवा र नुवाकोटमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरी उद्धार कार्य तीव्र पारिएको जानकारी दिए।
सरकारले रसुवा र नुवाकोटको विपद् व्यवस्थापन कोषमा एक–एक करोड तथा धादिङमा ५० लाख रुपैयाँ थप निकासा गरेको छ। बाढी प्रभावित तथा घाइतेको निःशुल्क उपचार, घरबार गुमाएकालाई सुरक्षित स्थानमा स्थानान्तरण र आवश्यक खाद्यान्न तथा आवासको व्यवस्था गर्ने निर्णयसमेत सरकारले गरेको छ।
यस्तै, अवरुद्ध सडक, विद्युत, खानेपानी र दूरसञ्चार सेवा यथाशीघ्र सञ्चालन गर्ने तथा प्रभावित क्षेत्रलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको प्रधानमन्त्री शाहले जानकारी दिए।