सिमकोट, हुम्ला – प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय, हुम्लाले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ।
कार्यालयद्वारा जारी अत्यन्त जरुरी सूचनामा निर्वाचन सम्पन्न भई मत परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिरा बिक्री वितरण तथा सेवन गर्न नपाइने उल्लेख गरिएको छ।
निर्वाचनलाई शान्त र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको जनाइएको छ। सूचनाको अवज्ञा गरी मदिरा बिक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।
जिल्ला प्रशासन कार्यालय हुम्लाले सबै सरोकारवाला तथा सर्वसाधारणलाई सूचनाको पालना गर्न आग्रह समेत गरेको छ।
१५ फाल्गुण २०८२, शुक्रबार ०७:०९ मा प्रकाशित