काठमाडौं भदौ -२५“हुम्लाका जनताले हरेक वर्ष ‘बत्ती कहिले आउँछ?’ भनेर कुर्नुपर्ने अवस्था अब अन्त्य हुनुपर्छ।”
सुर्खेत क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रमेश कुमार सापकोटा हुम्लाको वर्षौंदेखिको विद्युत् समस्यालाई प्रतिनिधिसभाको बैठकमा जोडदार रूपमा उठाउनुभएको छ।
हिल्दुम साना जलविद्युत् आयोजना पटक–पटक बिग्रिँदा हुम्लावासीले भोग्दै आएको अँध्यारो र सास्तीप्रति सरकारको ध्यानाकर्षण गराउँदै सांसद सापकोटाले बिग्रिएको मेसिन तत्काल मर्मत गरी विद्युत् सेवा सञ्चालन गर्न तथा हुम्लालाई दीर्घकालीन रूपमा भरपर्दो विद्युत् स्रोतसँग जोड्न माग गर्नुभएको हो।
विद्युत् नहुँदा हुम्लामा घरका बत्ती मात्रै निभ्दैनन्—सरकारी सेवा रोकिन्छ, बैंक तथा वित्तीय कारोबार प्रभावित हुन्छ, सञ्चार र इन्टरनेट बन्द हुन्छ, व्यवसाय प्रभावित हुन्छ र नागरिकको दैनिक जीवन नै अँध्यारोमा धकेलिन्छ।
हुम्लाको पीडा आफ्नै निर्वाचन क्षेत्रभन्दा टाढा रहेर पनि संसदमा उठाउँदै सांसद सापकोटाले दुर्गम जिल्लाका नागरिकको आधारभूत अधिकार र राज्यको दायित्व सम्झाउनुभएको छ।
हुम्लाको अँध्यारो हटाउन संसदमा उठेको यो आवाज अहिले हुम्लावासीका लागि आशाको आवाज बनेको छ।