विश्व स्तनपान सप्ताहको अवसरमा सिमकोट गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय सिमकोट तथा विभिन्न साझेदार संघ–संस्थाको संयुक्त आयोजनामा सुनौला हजार दिनका आमाहरूलाई लक्षित गरी स्तनपान तथा पोषण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
सिमकोट गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय सिमकोट, एमडीआई नेपाल, गुड नेबर्स इन्टरनेशनल (जीएनआई), एसआईडीसी÷वन हार्ट वल्र्डवाइड (ओएचडब्लुएच) तथा आधार नेपाल लगायतका साझेदार संस्थाहरूको सहकार्यमा आयोजित कार्यक्रममा सुनौला हजार दिनका आमाहरूलाई स्तनपानको महत्त्व, शिशुलाई सही तरिकाले दूध चुसाउने विधि, उचित सम्पर्क (ल्याच) र सही आसनका बारेमा व्यावहारिक प्रदर्शनी मार्फत जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रम सिमकोेट गाउँ पालिका अध्यक्ष बिजय भण्डारीको अध्यक्षता तथा सिमकोट गाउँ पालिका उपाध्यक्ष शुसिला भाम रोकायाको बिशेष आथित्यमा सिमकोट ५ तल्लोगाउँमा संचालन गरिएको थियो । कार्यक्रमका क्रममा स्थानीय स्तरमा उपलब्ध पौष्टिक तथा अर्गानिक खाद्य सामग्री प्रयोग गरी पोषिलो खिर तयार गरी आमाहरूलाई खुवाइएको थियो । साथै, शिशु छ महिनापछि सुरु गरिने थप पूरक आहार कस्तो हुनुपर्छ, घरमै उपलब्ध खाद्यान्नबाट कसरी सन्तुलित र पोषिलो खाना बनाउन सकिन्छ भन्ने विषयमा समेत स्वास्थ्यकर्मीहरूले जानकारी दिएका थिए । कार्यक्रममा सहभागी आमाहरूले स्तनपान र पूरक आहारसम्बन्धी व्यवहारिक ज्ञान प्राप्त गरेको बताएका छन् ।
यस्ता कार्यक्रमले आमा तथा शिशुको स्वास्थ्य सुधार, कुपोषण न्यूनीकरण र प्रभावकारी स्तनपान प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको सिमकोट गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले जानकारी दिएका छन् । विश्व स्तनपान सप्ताह हरेक वर्ष “दिगो जीवनको स्वस्थ सुरुवातः प्रभावकारी स्तनपानका लागि सबैको साथ“ भन्ने मूल नारासहित साउन १६ देखि २२ गतेसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै आएको छ ।