धुलाचौर–पिलु सडकखण्ड शुक्रबार २४ घण्टाको लागी खुलेको छ । हिमाली युवा क्लब, हिमाली गाउँपालिकाका राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल गुल्म हे.क्वा. बाजुराबीच भएको ६ बुँदे सहमतिपछि सडक शुक्रबार १२ बजेर ४० मिनेटमा २४ घण्टाको लागी सञ्चालनमा आएको छ । हुम्लाको लाम्पाटा क्षेत्रमा भएको सिमा बिबाद पछि भएको झडपको विरोधमा धुलाचौरमा स्थानीय युवाले आन्दोलन गर्दै सडक अवरुद्ध गरेका थिए ।
आन्दोलनका कारण हुम्ला आउने कयौँ यात्रु अलपत्र परेका थिए भने दैनिक उपभोग्य सामग्री ढुवानीसमेत प्रभावित बनेको थियो । बाजुराको धुलाचौरमा भएको सहमति अनुसार घटनास्थलको स्थलगत अनुगमन गरिने, घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याइने तथा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइने उल्लेख गरिएको छ । साथै घाइतेहरूको उपचार खर्च पीडक पक्षले व्यहोर्ने, विस्थापित परिवारको सुरक्षाको प्रत्याभूति दिलाइने र निर्माणाधीन प्रहरी चौकीमा भएको क्षतिको समेत क्षतिपूर्ति असुल गरिने सहमति भएको छ । २४ घण्टाभित्र कानुनी प्रक्रिया अघि नबढे पुनः अनिश्चितकालीन आन्दोलनमा उत्रिने उक्त समझौतापत्रमा उल्लेख गरीएको छ ।
सहमतिपत्रमा हिमाली युवा क्लबका अध्यक्ष विनोद बुढा, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लक्ष्मी राज जोशी, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरिक्षक प्रदिप राउत राष्ट्रिय स्वतन्त्र पार्टिका सचिव असोक पाण्डे,नेकपा एमालेका पुर्व जिल्ला कमिटि सदस्य प्रेम भण्डारी,नेपाली काङग्रेसका सभापति अम्मलाल कार्की लगायत हिमाली गाउँ पालिका जनप्रतिनिधिहरूको हस्ताक्षर रहेको छ ।