🔊 Live Radio Stream

हुम्लाका सात वटा स्थानीय तहमा कार्यसम्पादन मूल्याङ्कनमा सिमकोट गाउँपालिका पहिलो

radiomansarowar.com

मानसरोवर फागुन ३० गते । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले २०८१–०८२ को सार्वजनिक गरेको स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन अन्तिम नतिजाअनुसार सिमकोट गाउँपालिका जिल्लाको पहिलो स्थानमा परेको हो । जिल्लाका सात स्थानीय तहमध्यस्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा हुम्लाको सिमकोट गाउँपालिका जिल्लामै पहिलो भएको हो ।

यसअघि प्रारम्भिक नतिजामा ६२.९ प्रतिशत अंक ल्याएर दोस्रो स्थानमा रहेको सिमकोट गाउँपालिकाले सो परिणामप्रति असन्तुष्टि जनाउँदै तीन वटा विषयमा प्रमाणसहित पुनरावलोकनका लागि निवेदन दिएको थियो । आयोगले त्यसबारे अध्ययन गरेपछि अन्तिम नतिजामा ७५.८७ प्रतिशत अंक प्रदान गर्दै सिमकोट गाउँपालिकालाई पहिलो स्थानमा राखिएको सिमकोट गाउपालिका अध्यक्ष बिजय भण्डारीले रेडियो मानसरोेवरलाई बताउनुभयो।

सार्वजनिक गरेको प्रतिवेदनअनुसार ७१.६८ प्रतिशत अंकसहित दोस्रो स्थानमा खार्पुनाथ गाउँपालिका र ६२.४६ प्रतिशत अंकसहित ताँजाकोट गाउँपालिका तेस्रो स्थानमा रहेका छन् । त्यसैगरी चंखेली गाउँपालिकाले ६०.५५ प्रतिशत, नाम्खा गाउँपालिकाले ५४.८९ प्रतिशत, सर्केगार्ड गाउँपालिकाले ४८.३० प्रतिशत र अदानचुली गाउँपालिकाले ४७.७५ प्रतिशत अंक प्राप्त गरेका छन् ।

आयोगले गत माघ २९ गते प्रारम्भिक नतिजा सार्वजनिक गरी पुनरावलोकनका लागि सात दिनको सूचना जारी गरेको थियो । त्यसपछि स्थानीय तहहरूले छुट भएका विवरणहरू पेस गरेपछि अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।

आयोगले विकास कार्यक्रमको कार्यान्वयन, बजेटको प्रभावकारी उपयोग, प्रशासनिक क्षमता तथा जनसहभागितालाई आधार मानेर अंक निर्धारण गरेको जनाएको छ ।


प्रतिक्रिया