किर्डाक र गुड नेभर्स संस्थाको समन्वय संगै सामुदायिक रेडियो कर्णाली आवाजको आयोजनामा बालबिबाह र बाल श्रम न्यूनिकरण लागी एकिकृत पहल भन्ने नाराका साथ जिल्ला बाल सभा कार्यक्रम संचालन गरिएको छ । उक्त कार्यक्रम कर्णाली प्रदेशको हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन भएको हो ।
सामुदायिक रेडियो कर्णाली आवाजका स्टेसेन म्यानेजर नवराज महतारको अध्यक्षता र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलको प्रमुख आतिथ्य सँगै अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा, सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया, जिल्ला सरकारी वकिल निसा केसी, लगायत राजनितिक दल, पत्रकार, नागरिक समाज, जिल्लाको चंखेली, सिमकोट लगायतका गाउँपालिकाका बालबालिकाको उपस्थितमा बाल सभा कार्यक्रम आइतबार विहान सिमकोटमा संचालन भएको हो ।
बालबिबाह र बाल श्रम न्यनिकरणका विषयमा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, प्रहरी नायव उपरिक्षक शंकर खड्का र सरकारी वकिल निसा केसीले प्रशिक्षण गराएको जानकारी प्राप्त भएको छ । सोही कार्यक्रममा बालबालिका सम्बन्धि विषयहरुमा बहस छलफल गर्दा अभिभावक पनि साथमा राखेर कार्यक्रम संचालन गर्दा प्रभावकारी हुने, नेपालको कानून अनुसार विवाहका लागि महिला र पुरुष दुवैको उमेर २० वर्ष पुरा भएको हुनु पर्छ,२० वर्ष नपुगी गरिने बिबाहलाई बाल बिवाह भनिन्छ र यो एक दण्डनिय फौजदारी अपराध भएको, २० वर्ष नपुगी गरेको बिबाह स्वत बदर हुने र बाल विवाह गर्ने गराउने व्यक्तिलाई ३ वर्ष सम्म कैद र ३० हजार रुपैंया सम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।