बिरेन्द्र गिरी
लिवाङ, रोल्पा
रोल्पा नगरपालिका वडा नं. २ रेउघामा सोमबार राति ग्यास सिलिन्डर पड्किँदा एक घरमा आगलागी भएको छ।
गएराति (सोमबार) करिब ११ः३० बजेको समयमा स्थानीय ४५ वर्षीया लाल कुमारी पुनको दुई तले पक्की घरको छतमा रहेको काठ र जस्ताले बनेको भान्सा कोठामा अचानक ग्यास सिलिन्डर विस्फोट भई आगलागी भएको हो। घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रेउघा र जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दाको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको छ।
आगलागीबाट कुनै मानवीय क्षति नभए पनि भान्सामा रहेका भाँडाकुँडा, दराज, किचन ¥याक र फ्रिज लगायतका सम्पूर्ण सामग्रीहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन्। प्रहरीले घटनाको थप विवरण संकलन गरिरहेको छ।
२४ चैत २०८२, मङ्गलबार ०८:४२ मा प्रकाशित