हुम्ला जिल्लाका राजनितिक दलको संयुक्त बसेको बैठकले प्रेस विज्ञप्ति जारी गर्दै बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले लाम्पाटा क्षेत्रमा नेपाल सरकारको स्पष्ट निर्णयबिनै अस्थायी प्रहरी चौकी निर्माण थालेको भन्दै आपत्ति जनाएको छ । खार्पुनाथ, सर्केगाड, ताँजाकोट, सिमकोट र नाम्खा गाउँपालिकामा पर्ने रानीसैन, च्याचौर र लाम्पाटा क्षेत्रलाई लिएर लामो समयदेखि स्वामित्व विवाद रहँदै आएको अवस्थामा एकपक्षीय रूपमा संरचना निर्माण अघि बढाइनु खेदजनक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा हिमाली गाउँपालिका–३ का केही व्यक्तिमाथि कुटपिट भएको भन्ने समाचारलाई “निराधार हल्ला” भनिएको छ । साथै, हुम्लाको सीमा क्षेत्रमा आफूखुशी प्रवेश गरेर निर्माण कार्य अघि बढाउने प्रयासले स्थानीयको आक्रोश बढेको दाबी गरिएको छ । यसैबीच, धुलाचौर क्षेत्रमा राष्ट्रिय राजमार्ग अवरुद्ध पारिएको भन्दै हुम्लाका नागरिकलाई दुई दिनसम्म समस्यामा पारिएको आरोप पनि लगाइएको छ ।
विज्ञप्तिमार्फत तत्काल सडक सञ्चालन गर्न, विवादित क्षेत्रमा भइरहेको प्रहरी चौकी निर्माण रोक्न तथा घटनामा संलग्नमाथि कारबाही गर्न सरकारसँग माग गरिएको छ । संयुक्त विज्ञप्तिमा ड्रोन प्रयोग गरेर वन्यजन्तुको चोरी सिकारी तथा वन फँडानीमा संलग्नमाथि समेत कानुनी कारबाहीको माग गरिएको छ ।
साथै, नेपालगञ्ज–सुर्खेत हुँदै हुम्ला आउने यात्रुलाई धुलाचौरमा रोकेर दुःख दिएको घटनालाई मुलुकी अपराध संहिता अनुसार कारबाहीयोग्य अपराध भएको उल्लेख गरिएको छ । समस्या समाधानका लागि वार्ता, समन्वय र कानुनी प्रक्रियाबाट अघि बढ्नुपर्नेमा जोड दिँदै विज्ञप्तिमा राष्ट्रिय राजमार्ग तत्काल सञ्चालन नभए थप आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।