नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल महिला संघ प्रदेश ‘ख’ सभापति छपाल लामाले मानसरोवर माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको छ । लामाले विद्यालयका प्रधानाध्यापक अमर बहादुर शाहीलाई एक सेट भलिबल र एक सेट नेट हस्तान्तरण गर्नुभएको हो ।
छात्राहरूको खेल क्षेत्रमा रहेको प्रतिभा तथा क्षमता विकास गर्न र उनीहरूमा भएका सीप तथा कलालाई खेलकुद मार्फत बाहिर प्रस्फुटन गराउने उद्देश्यले खेल सामग्री वितरण गरिएको सभापति लामाले बताउनु भयो । विद्यालयमा अध्ययनरत छात्राहरूलाई पढाइसँगै खेलकुदका क्षेत्रमा पनि सक्रिय बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा समेत सहयोग पु¥याउने लामाले बताउनुभयो ।
खेलकुद सामग्री प्राप्त भएपछि विद्यालयका छात्राहरूलाई नियमित रूपमा भलिबल अभ्यास तथा प्रतियोगितामा सहभागी हुन सहज हुने विद्यालयले जनाएको छ। आवश्यक खेलकुद सामग्रीको अभावमा अभ्यास गर्न समस्या हुँदै आएको अवस्थामा सामग्री सहयोगले छात्राहरूलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । विद्यालयका प्रधानाध्यापक शाहीले विद्यालयलाई खेलकुद सामग्री सहयोग गरेकोमा नेपाल महिला संघ प्रदेश ‘ख’ सभापति लामाप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले विद्यालयको शैक्षिक विकाससँगै विद्यार्थीको अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतिभा विकासमा पनि विद्यालयले प्राथमिकता दिँदै आएको बताउनुभयो । विद्यालयमा अध्ययनरत छात्राहरूले प्राप्त खेलकुद सामग्रीको सदुपयोग गर्दै आफ्नो खेल क्षमता विकास गर्ने विश्वास विद्यालयले व्यक्त गरेको छ ।