🔊 Live Radio Stream

महिलाको आर्थिक सशक्तीकरणका लागि संचालित पाँचदिने संवाद सहजीकरण तालिम सम्पन्न

radiomansarowar.com

धनगढी, साउन १२ : महिलाको आर्थिक सशक्तीकरणका लागि सामाजिक संवादसम्बन्धी पाँचदिने क्षमता अभिवृद्धि तालिम आज धनगढीमा सम्पन्न भएको छ। प्रो पब्लिकको आयोजनामा सञ्चालित उक्त तालिममा कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहबाट २७ जना सहभागी, जसमध्ये २२ महिला र ५ पुरुष सहभागी भएका थिए।

समापन कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रम प्रो पब्लिकका कार्यक्रम प्रमुख बाबुराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जीआईजेड (GIZ) का प्रतिनिधि सहारा बस्नेतको समेत विशेष उपस्थिति रहेको थियो।

तालिममा प्रो पब्लिककी कार्यक्रम संयोजक कमला रानासहित तीन जना प्रशिक्षकले सामाजिक संवाद, महिलाको आर्थिक सशक्तीकरण, लैङ्गिक समानता, सुरक्षित कार्य वातावरण, मानव अधिकार, संवाद सहजीकरण, वित्तीय अनुशासन तथा समुदायमा संवाद सञ्चालनका व्यवहारिक पक्षबारे प्रशिक्षण दिनुभएको थियो।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि शारदा रोकायाले तालिमबाट हासिल भएको ज्ञान र सीपलाई समुदायमा व्यवहारमा उतार्दै महिलाको आर्थिक सशक्तीकरण र सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउन सहभागीहरूलाई आग्रह गर्नुभयो। आयोजकले तालिमबाट तयार भएका संवाद सहजकर्ताले स्थानीय तहमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया