हुम्लाको सदरमुकाम सिमकोटमा सम्पन्न १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विभिन्न १३ विधामा सम्पन्न खेलकुद प्रतिस्पर्धा मध्ये खार्पुनाथले सर्वाधिक स्वर्ण पदक जित्दै जिल्लाको च्याम्पियन बन्न सफल भएको प्रतियोगिताका प्रमुख रेफ्री बाँचबहादुर रावतले जानकारी दिएका छन् । सातवटै गाउँपालिका बीच भएको कडा प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै खार्पुनाथले ८ स्वर्ण पदक सहित यस बर्षको रनिङ शिल्ड आफ्नो पक्षमा पारेको हो । उनका अनुसार ७ स्वर्ण पदकसहित सर्केगाड गाउँपालिका द्वितीय तथा ६ स्वर्ण पदकसहित सिमकोट गाउँपालिका तृतीय भएको छ ।
गत १४ औं र १५ औं संस्करणको विजेता सर्केगाड गाउँपालिका भने यसपटक ७ स्वर्ण पदकसहित उपविजेतामा सीमित बनेको छ । प्रतियोगिता भर सर्केगाड र खार्पुनाथबीच उपाधिका लागि रोमाञ्चक प्रतिस्पर्धा देखिएको थियो । प्रतियोगिताका क्रममा केही खेलमा विवाद समेत उत्पन्न भएको थियो। कबड्डी र तीन हजार मिटर दौड प्रतियोगिता सञ्चालन हुनुपर्ने तथा अन्य पालिकाको अनुपस्थितिमा आफू स्वतः विजेता हुनुपर्ने माग गर्दै सर्केगाड गाउँपालिकाले असन्तुष्टि जनाएको थियो ।
यद्यपि आयोजकले सम्पन्न खेलहरूको मूल्यांकनका आधारमा अन्तिम नतिजा सार्वजनिक गरेको जनाएको छ । यस वर्षको राष्ट्रपति रनिङ शिल्डले हुम्लामा खेलकुदप्रतिको बढ्दो आकर्षण, युवाको प्रतिभा तथा गाउँपालिकाबीचको प्रतिस्पर्धात्मक भावना थप सशक्त बनेको संकेत दिएको छ । खार्पुनाथ गाउँपालिकाको यो जितलाई जिल्लाको खेल इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको पालिका अध्यक्ष कर्ण रावलले प्रतिक्रिया दिएका छन् ।