🔊 Live Radio Stream

प्रहरी नायव उपरीक्षक खड्का द्धारा असहाय नागरिकलाई आर्थिक सहयोग

radiomansarowar.com

आर्थिक अभावका कारण उपचार गराउन समस्या भोगिरहेका एक असहाय नागरिकलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले आर्थिक सहयोग प्रदान गरेको छ । हुम्लाको नाम्खा गाउँपालिका–२ निवासी सोनाम टासी लामाले दाउरा फुटाउने क्रममा दाउराको टुक्रा उछिट्टिएर बायाँ आँखामा गम्भीर चोट लागेपछि उपचारका लागि आर्थिक सहयोगको आवश्यकता परेको थियो । जिल्ला अस्पताल हुम्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल जानुपर्ने अवस्था भए पनि आर्थिक अवस्था कमजोर भएकाले उनले जिल्ला प्रहरी कार्यालय हुम्लासमक्ष सहयोगको आग्रह गरेका थिए । उक्त निवेदनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) शंकर खड्काले घाइते लामालाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ । नेपाल प्रहरीले आफ्नो नियमित सुरक्षा जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विपन्न तथा असहाय नागरिकको सहयोगमा निरन्तर सक्रिय रहेको उदाहरणका रूपमा यस कार्यलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन् ।

प्रतिक्रिया