धनगढी, कैलाली। प्रो पब्लिकको आयोजनामा पाँच दिने क्षमता अभिवृद्धि तालिम आजदेखि कैलालीको धनगढीमा सुरु भएको छ।
संवाद सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न गाउँपालिका, नगरपालिका तथा उपमहानगरपालिका बाट २७ जना प्रतिनिधिको सहभागिता रहेको छ। सहभागीमध्ये २२ जना महिला र ५ जना पुरुष रहेका छन्।
तालिममा संवाद सहजीकरण, नेतृत्व विकास, प्रभावकारी सञ्चार, समुदायमा संवाद सञ्चालन, स्थानीय सरकारसँग समन्वय तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विषयमा प्रशिक्षण प्रदान गरिनेछ।
तालिमको उद्घाटन धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले गर्नुभएको हो। कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुखको समेत उपस्थिति रहेको थियो।
पाँच दिनसम्म सञ्चालन हुने उक्त तालिमले सहभागीहरूको ज्ञान, सीप तथा नेतृत्व क्षमता अभिवृद्धि गरी स्थानीय तहमा प्रभावकारी संवाद र सहकार्यलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ।
८ साउन २०८३, शुक्रबार ०७:४१ मा प्रकाशित