कवाडी –लाम्पाट –रानीखर्क–संरक्षण अभियान हुम्लाद्धारा सीमा विवादलाई लिएर प्रेस बिज्ञाप्ति जारी गरेको छ । बाजुराका नागरिकले पटक–पटक कर्णाली करिडोरअन्तर्गत करिरोड–धुलाचौर सडक अवरुद्ध गर्दै कवाडी –लाम्पाट –रानीखर्क–संरक्षण अभियान हुम्लाका संयोजक प्रकाश बहादुर शाहीले पत्रकार सम्मेलन मार्फत हुम्ली पक्षले लाम्पाटामा सहमतिबिना तथा पूर्वाग्राही ढंगले स्थापना गरिएको संयुक्त सुरक्षा बेस क्याम्प नेपाल सरकारद्वारा गठित अध्ययन समितिको प्रतिवेदन सार्वजनिक नभएसम्म बाजुराको गुम्बा क्षेत्रमा सार्नुपर्ने माग गरेको छ ।
त्यस्तै, मानवीय संवेदनशीलता तथा अत्यावश्यक सेवासँग जोडिएको राष्ट्रिय राजमार्ग कर्णाली करिडोर पटक–पटक बन्द गर्ने निहित स्वार्थ र शर्तको अन्त्य गर्नुपर्ने, अभद्र व्यवहार तथा वन तस्करी मुद्दाका बाजुरेली अभियुक्तलाई तत्काल पक्राउ गरी निर्दोष हुम्लीमाथि लगाइएका झुटा मुद्दा खारेज गर्नुपर्ने माग पनि गरिएको छ।प्रमाणभन्दा प्रतिशोध र भूगोलभन्दा गुगलको आधारमा बाजुराले प्रायोजित रूपमा सिर्जना गरेको सीमा विवाद अन्त्य गर्न अध्ययन समितिले यथाशीघ्र कार्य प्रारम्भ गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मागहरू पूरा नभए तथा हुम्ला–बाजुरा सीमा विवाद समाधानतर्फ ठोस पहल नभए आन्दोलनका थप कार्यक्रम घोषणा गरिएको छ। जसअनुसार २०८३ जेठ ३१ गतेदेखि जिल्ला प्रशासन कार्यालय हुम्लाद्वारा आयोजित सर्वदलीय, सर्वपक्षीय बैठक तथा सम्पूर्ण कार्यक्रम बहिष्कार गरिने जनाइएको छ ।