🔊 Live Radio Stream

शिवालयमा व्रतालु महिलाको घुइँचो आस्था, प्रेम र सौभाग्यको पर्व तीज आज

radiomansarowar.com

काठमाडौं, भदौ २९ — हिन्दू धर्मावलम्बी महिलाहरूको प्रमुख पर्व हरितालिका तीज आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।

भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजको मुख्य दिन आज महिलाहरूले निराहार तथा फलाहार व्रत बसेर भगवान् शिवको पूजा–आराधना गरिरहेका छन्। धार्मिक विश्वासअनुसार शिव–पार्वतीको पूजा तथा उपासना गर्दा पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने मान्यता छ।

तीजका अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। भक्तजनलाई सहज रूपमा दर्शन गराउन पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरिएको छ।

पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको व्यवस्थापनका लागि मन्दिर बाहिर पाँचवटा लाइन र परिसरभित्र आठवटा लाइनको व्यवस्था गरेको जनाएको छ। एकपटकमा आठ जना भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्थापन मिलाइएको छ।

तीजलाई धार्मिक आस्थासँगै दिदीबहिनीबीच भेटघाट, दुःख–सुख साटासाट र सांस्कृतिक मौलिकता अभिव्यक्त गर्ने पर्वका रूपमा समेत मनाउने गरिन्छ। पछिल्लो समय तीजका अवसरमा महिलाहरूले सामाजिक विकृति र विभेदविरुद्ध आवाज उठाउने तथा आफ्ना अनुभव र भावना गीतमार्फत व्यक्त गर्ने क्रम पनि बढेको छ।

प्रतिक्रिया