हुम्ला भदौ -११ आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिरको हुम्लाको विकास र पूर्वाधार निर्माणमा समेत प्रतिनिधिसभा सदस्य रमेश कुमार सापकोटाले चासो देखाउनुभएको छ।
हुम्लाको सर्ली–लिमी–लाप्चा सडक स्तरोन्नति तथा कालोपत्रेका लागि सांसद सापकोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई औपचारिक पत्र पठाउँदै आवश्यक बजेट र प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको हो।
करिब ४० किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे, ३ वटा पुल र ३ वटा कल्भर्ट निर्माणका लागि डीपीआर तयार गरी आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गर्न उहाँले माग गर्नुभएको छ।
हुम्लाको विकास, स्थानीय जनजीवनको सहजता तथा मानसरोवर क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने भएकाले उक्त सडकलाई उच्च प्राथमिकतामा राख्न सांसद सापकोटाले आग्रह गर्नुभएको छ।
अर्को क्षेत्रका माननीय भएर पनि हुम्लाको विकासमा देखाउनुभएको चासोले सकारात्मक सन्देश दिएको भन्दै स्थानीयले पहलको प्रशंसा गरेका छन्।