वीरेन्द्र गिरी
लुङ्ग्री (रोल्पा)
रोल्पाको लुङ्ग्री गाउँपालिकामा उत्पादित अर्गानिक कोदोले उचित बजार र मूल्य पाउन थालेको छ। लुङ्ग्री सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको आयोजनामा आइतबार लुङ्ग्री–५ किलाचौरबाट पहिलो चरणमा ७० क्विन्टल कोदो राजधानी काठमाडौं पठाइएको हो।
कुल ४ लाख ८६ हजार ७ सय ४५ रुपैयाँ बराबरको ७ हजार केजी कोदो निर्यात गरिएसँगै दुर्गम क्षेत्रका कृषकहरू उत्साहित भएका छन्। सहकारीका अध्यक्ष भुमिका विष्टको अध्यक्षतामा सम्पन्न निर्यात कार्यक्रममा लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापा प्रमुख अतिथि र उपाध्यक्ष दिलकुमारी गुरूङ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थापाले स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्नु र कृषकको आर्थिक स्तर सुधार गर्नु गाउँपालिकाको मुख्य लक्ष्य रहेको बताउनुभयो। उपाध्यक्ष गुरूङले महिला उद्यमीहरूको सक्रियताले रोल्पाको पहिचान राष्ट्रियस्तरमा पुगेको धारणा राख्नुभयो।
सहकारीले संकलन र बजारीकरणको जिम्मा लिएपछि कृषकहरू बिचौलियाबाट ठगिनुपर्ने अवस्थाको अन्त्य भएको छ। कृषि शाखा प्रमुख भुपेन्द्र पाण्डे र ‘सहिद परिवार नेपाल’ का अध्यक्ष विशाल खड्काले कोदोको व्यावसायिक सम्भावना र आधुनिक प्रशोधनको महत्त्वबारे प्रकाश पार्नुभएको थियो।
विगतमा बजारको अभाव झेल्दै आएका स्थानीय कृषकहरूले अहिले गाउँमै उचित मूल्य पाउन थालेका छन्। लुङ्ग्री गाउँपालिकाले आगामी दिनमा उत्पादन वृद्धि गर्दै यस क्षेत्रलाई अर्गानिक उत्पादनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।